रामेछाप : रामेछाप नगरपालिका-२ सिरुबारीमा निर्वाचन सामाग्री बोकेको गाडी दुर्घटना हुँदा एक प्रहरी अधिकृतको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।
फागुन १८ गते मन्थलीबाट कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयका मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्याउन कर्मचारीसहित जाँदै गरेको गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ । गाडीमा चालकसहित ११ जना सवार रहेको बताइए पनि दुर्घटनाका क्रममा तीन जना गाडीबाट हाम फालेर जोगिएको प्रारम्भिक जानकारी छ । अन्य सात जना घाइते भएका छन् ।
दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक रमेशबहादुर थापाको कमान्डमा गोताखोर तथा विपद् व्यवस्थापन तालिमप्राप्त टोली तत्कालै परिचालन गरिएको थियो । उद्धार टोलीले घाइतेहरूलाई बाहिर निकालेर उपचारका लागि मन्थली अस्पताल पठाएको जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



