काठमाडौं : निर्वाचनको दिन सञ्चारकर्मीहरूको आवागमनलाई सहज बनाउन निर्वाचन आयोगले छुट्टै पास वितरण नगर्ने निर्णय गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सूचना विभागले जारी गरेको परिचयपत्रकै आधारमा पत्रकारहरूले देशभर आवागमन गर्न पाउने जानकारी दिए ।
उनले ७९ सालको निर्वाचनमा प्रेस काउन्सिल र आयोगबीच केही तिक्तता भएपनि अहिले ०८२ सालमा राम्रो समन्वय रहेको बताए । साथै मतदान स्थलको ३ सय मिटर वरिपरि कुनै पनि दलको प्रचार सामग्री भएमा त्यसलाई हटाउन र आचारसंहिता पालनामा सघाउन उनले पत्रकारहरूलाई आग्रह गरे।
उनले भने, ‘सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिहरूले निर्वाचनमा आवागमन गर्दा आयोगबाट छुट्टै पास लिनुपर्दैन । सूचना विभागले जारी गरेको पास नै मान्य हुनेछ । ‘आवागमनमा कतै समस्या पर्याे भने आयोगमा तुरुन्त खबर गर्नुहोस्, हामी सहजीकरण गर्छौं।’
पत्रकारहरु आफैँ आचारसंहिताको नमूना बनेर देखिनुपर्ने र त्यसले अरूलाई पनि अनुशासनको दायरामा ल्याउने उनको विश्वास छ।



