नेपाल न्युज प्वाइन्ट डटकम
मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली, आकस्मिक उद्धार टोली गठन गर्ने निर्णय

काठमाडौं : परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा १७ लाखभन्दा बढी नेपाली रहेका जनाएको छ । 

मन्त्रालयका सहसचिव एवं मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले करिब १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक मध्यपूर्वमा रहेको जानकारी दिए । मन्त्रालयले आइतबार मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

मन्त्रालयले ती देशका लागि ट्राभल एड्भाइजरी जारी गर्दै सुरक्षित रहन आग्रह गरेको छ । साथै, सम्बन्धित देशमा रहेका नेपाली नियोग प्रमुखहरूसँग समन्वयका लागि ह्वाट्सएप समूह गठन गरिएको उनले जानकारी दिए । जहाँ स्थानीय गतिविधि र नेपालीहरूले भोगेका समस्याबारे नियमित अपडेट भइरहेको छ ।

खड्काले उद्धार तथा नागरिकको अवस्थाबारे तथ्यांक संकलन गर्न कन्सुलर सेवा विभागमार्फत अनलाइन दर्ता प्लेटफर्म विकासको काम सुरु गरेको जानकारी दिए । दर्ता प्लेटफम सबै नियोगहरूको वेबसाइटमा उपलब्ध गराइनेछ । उनले आइतबार मुख्यसचिव सुमनराज अर्यालको नेतृत्वमा बसेको सर्वपक्षीय बैठकले परराष्ट्र सचिव अमृतबहादुर राईको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने गरी आकस्मिक उद्धार टोली गठन गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

सम्भावित युद्धको अवस्था, त्यसको अवधि, छिमेकी मुलुकहरूको कदम र सम्बन्धित देशहरूको तत्परताका आधारमा उद्धार रणनीति तय गरिने उनले जानकारी दिए । उनकाअनुसार इरानमा रहेका १० नेपालीमध्ये ४ जना स्वदेश फर्किसकेका छन् भने ६ जना अझै त्यहीँ छन् ।

इजरायलमा करिब ६ हजार ५ सय, इजिप्टमा ५ सय, ओमनमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९ सय १३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरेबियामा ३ लाख ८४ हजार ८ सय ६५, संयुक्त अरब इमिरेट्समा करिब ७ लाख, लेबनानमा १ हजार ४ सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली नागरिक मध्यपूर्वमा रहेका छन् । 

मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले हालसम्म प्राप्त सूचनाअनुसार मध्यपूर्वमा रहेका नेपालीहरू सुरक्षित रहेको बताए । उनकाअनुसार मध्यपूर्व क्षेत्रमा रहेका १० नेपाली नियोगहरूले स्थानीय सरकार र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रही मन्त्रालयलाई प्रतिवेदन पठाइरहेका छन् । ढकालले मध्यपूर्वमा रहेका नेपालीलाई नआत्तिन, सुरक्षित रहन, आफन्तसँग सम्पर्कमा रहिरहन तथा स्थानीय सरकार र दूतावासबाट जारी आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेका छन् । उनले नेपालमा रहेका आफन्तलाई पनि अनाश्यक सूचनाको पछि नलागी नियमित परिवारको सदस्यसंग सम्पर्कमा रहन आग्रह गरे । 

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मध्यपूर्व क्षेत्रमा विकसित घटनालाई नेपाल सरकारले नजिकबाट नियालिरहेको बताए । उनले सबै पक्षहरुलाई अधिकतम संयमता अपनाउन, तनावलाई थप बढ्न नदिन र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्नको लागि नेपाल सरकारले आग्रह गरेको बताए ।

नेपालले कुटनीतिक र वार्ताको माध्यमबाट विवाद समाधान गर्न, संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनका पालन गर्न र सबै राष्ट्रको सार्वभौम अधिकारको सम्मान गर्न पनि आह्वान गरेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update