नेपाल न्युज प्वाइन्ट डटकम
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो

तेहरानः अमेरिका–इरान आणविक वार्तामा तनाव बढिरहेका बेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा दिनदहाडै आक्रमण गरेको छ । सहरको केन्द्र भागबाट धुवाँका बाक्लो बादल उठेको देखिएको छ भने आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कार्यालय नजिकै केन्द्रित भएको जनाइएको छ ।

छयासी वर्षीय खामेनी आक्रमणका बेला कार्यालयभित्र थिए कि थिएनन् भन्ने तत्काल स्पष्ट हुन सकेको छैन । अमेरिकासँगको बढ्दो तनावका कारण उनी केही दिनयता सार्वजनिक रूपमा देखिएको थिएन । यसैबीच, अमेरिकाले इरानलाई आणविक कार्यक्रमबारे सम्झौतामा ल्याउन दबाब बढाउँदै क्षेत्रमा लडाकू जेट र युद्धपोत तैनाथ गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको आणविक कार्यक्रम नियन्त्रणमा ल्याउने उद्देश्यले सम्झौता चाहन्थे । इरान भने युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार कायम राख्न चाहन्छ र लामो दूरीका क्षेप्यास्त्र कार्यक्रम वा हमास तथा हिजबुल्लाह जस्ता सशस्त्र समूहलाई समर्थनबारे वार्ता गर्न इच्छुक देखिएको छैन । देशभित्र बढ्दो असन्तोष र विरोधबीच इरान युद्धबाट बच्न चाहिरहेको सङ्केत दिइरहेको छ ।

इरानले तत्काल प्रतिआक्रमण गर्नेबारे स्पष्ट जानकारी दिएको छैन, तर क्षेत्रभर फैलिएका अमेरिकी सैन्य अड्डा र कर्मचारी कुनै पनि जवाफी कारबाहीको लक्ष्य बन्न सक्ने चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण ‘धम्की हटाउने’ उद्देश्यले गरिएको बताएका छन्, यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

तेहरानका प्रत्यक्षदर्शीहरूले खामेनीको कार्यालय आसपास पहिलो विस्फोटको आवाज सुनेको बताएका छन् । इरानी राज्य टेलिभिजनले विस्फोटको पुष्टि गरे पनि कारण खुलाएको छैन । त्यही समयमा इजरायलभर साइरन बजाइएको थियो । इजरायली सेनाले ‘सम्भावित क्षेप्यास्त्र प्रहारको तयारीस्वरूप’ जनतालाई सतर्क रहन आग्रह गरेको जनाएको छ ।

इजरायलले थप आक्रमण भइरहेको दाबी गरेपछि तेहरानमा थप विस्फोटका आवाज सुनिएको रिपोर्ट आएको छ । हालसम्म हताहतबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन । आक्रमणपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र पाइलटहरूलाई विशेष चेतावनी जारी गरिएको छ । अमेरिकी सेनाले घटनाबारे तत्काल टिप्पणी गर्न अस्वीकार गरेको छ । घटनाले मध्यपूर्वमा नयाँ सैन्य टकरावको जोखिम बढाएको विश्लेषण गरिएको छ । एजेन्सी

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update