नेपाल न्युज प्वाइन्ट डटकम
होलीमा कडाइ : मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न नपाइने

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको फागु पूर्णिमा (होली) पर्वमा सार्वजनिक स्थानमा मञ्च निर्माण गरी सांगीतिक कार्यक्रम गर्न तथा मेला–महोत्सव आयोजना गर्न रोक लगाएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा खुला सडक तथा सार्वजनिक स्थानमा भेला भई भिड जम्मा गर्ने, मेला–महोत्सव गर्ने, मञ्च बनाएर सांगीतिक कार्यक्रम सञ्चालन गर्ने तथा मादक पदार्थको बिक्री–वितरण र सेवन जस्ता गतिविधि नगर्न/नगराउन आग्रह गरिएको छ ।

प्रशासनले होली पर्वको नाममा चुनाव प्रचार हुन सक्ने आशंकासमेत औंल्याएको छ । सूचनाअनुसार निर्वाचन आचारसंहिता–२०८२ विपरीत दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट वा झोला प्रयोग गर्न पाइने छैन । होलीलाई लक्षित गरी उम्मेदवारको तस्वीर वा निर्वाचन चिह्न अंकित पोशाक प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले स्पष्ट पारेको छ ।

त्यस्तै, कसैको इच्छा विपरीत रंग, अबिर वा पानीको लोला हान्ने, जबरजस्ती रंग दल्ने तथा होहल्ला र झैझगडा गर्ने जस्ता अमर्यादित गतिविधि नगर्न पनि अनुरोध गरिएको छ ।

प्रशासनले धार्मिक तथा सांस्कृतिक रूपमा आफ्नै घर–कम्पाउण्डभित्र परिवारजन, आफन्त र साथीभाइसँग मर्यादित ढंगले पर्व मनाउन भने रोक नलगाइएको स्पष्ट पारेको छ । तर सार्वजनिक शान्ति, सुव्यवस्था र निर्वाचन सुरक्षामा असर पर्ने गतिविधि गरेमा प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारमा हनन नहुने गरी अनुशासित र सभ्य रूपमा होली मनाउन आग्रह गरेको छ ।

Kathmandu-CDO-Office-Notice-1772173326.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update