नेपाल न्युज प्वाइन्ट डटकम
बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

काठमाडौं : बीबीसीले भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ सम्बन्धी सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन आग्रह गर्दै निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार काउन्सिललाई पत्र पठाइएको जानकारी दिए । उनका अनुसार डकुमेन्ट्री तत्काल हटाउन निर्देशन दिइएको छ र नहटाइएमा निर्वाचन कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ ।

बीबीसी वर्ल्ड सर्भिसले तयार गरेको वृत्तचित्रमा आन्दोलनका क्रममा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले निहत्था प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको उल्लेख गरिएको छ । उक्त सामग्री अंग्रेजी र नेपाली दुवै भाषामा सार्वजनिक गरिएको हो ।

वृत्तचित्रमा प्रहरीको आन्तरिक दस्तावेजसमेत समावेश गरिएको दाबी गरिएको छ । ती दस्तावेजमा ‘पिटर वान’ कल–साइन प्रयोग गर्ने अधिकारीले कर्फ्यू लागेको १० मिनेटपछि “आवश्यक बल प्रयोग गर्न” निर्देशन दिएको उल्लेख छ । साथै, कर्फ्यू १२:३० बजे लागू गरिएको विवरणसमेत प्रस्तुत गरिएको छ ।

आयोगको पत्रपछि बीबीसीको सामग्रीबारे काउन्सिलले के कदम चाल्छ भन्ने विषयमा थप चासो बढेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update