नेपाल न्युज प्वाइन्ट डटकम
साम्बाद्वारा उपचारका लागि सहयोगको अपिल

काठमाडौं : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले पछिल्लो सात सातादेखि चोटका कारण मैदानबाहिर रहनुपरेको जानकारी दिँदै यसअघि गरिएको शल्यक्रियामा हालिएको ग्राफ्ट तथा एमसिएल (मिडियल कोलेटरल लिगामेन्ट) दुवैमा गम्भीर क्षति पुगेको बताएकी छन् । उनका अनुसार पूर्ण रूपमा निको हुन पुनः जटिल शल्यक्रिया अपरिहार्य भएको छ ।

भण्डारीले यसअघि अखिल नेपाल फुटबल संघ को पहलमा उपचार व्यवस्थापन र आर्थिक सहयोग प्राप्त हुँदा आफू समयमै मैदानमा फर्किन सफल भएको स्मरण गरेकी छन् । तर यसपटक भने वाचा गरिएअनुसार सहयोग नपाएको उनको गुनासो छ ।

उनका अनुसार चोट लागेको तीन सातापछि क्लबको पहलमा शल्यक्रियाको मिति तय भए पनि एन्फाले आफ्नै तर्फबाट पहल गर्ने बताउँदै प्रक्रिया अघि नबढाएको थियो । अघिल्लो साता एन्फा अध्यक्षले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिँदै अधिकतम पाँच लाख रुपैयाँ नगद सहयोग प्रस्ताव गरेको उनले उल्लेख गरेकी छन् ।

यसबीचमा अघिल्लो प्रक्रिया रोकिँदा झण्डै दुई महिनापछि मात्र पुनः शल्यक्रियाको मिति तय गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

हाल उनी न्युजिल्यान्ड स्थित क्लबमा आबद्ध छिन् । क्लबले स्थानीय अस्पतालमै उपचार गराउन तयार रहेको जनाए पनि चोटको गम्भीरता कारण उच्चस्तरीय उपचारका लागि अस्पेटार अस्पताल, कतार मा उपचार गराउने इच्छा व्यक्त गरेकी छन् ।

क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने भए पनि शल्यक्रिया र ७–८ महिनाको पुनर्स्थापन (रिह्याबिलिटेसन)का लागि उक्त रकम अपुग हुने जनाइएको छ । उपचारका लागि प्रारम्भिक रूपमा करिब ८० हजार अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।

सरकारी स्तरबाट पनि सहयोगका लागि पहल भइरहेको भए पनि प्रक्रिया अपेक्षाअनुसार अघि नबढेकाले आम समर्थकमाझ सहयोगको अपिल गर्नुपरेको उनले बताएकी छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update