नेपाल न्युज प्वाइन्ट डटकम
अहिलेकै अवस्थामा चुनावमा जान हुन्न : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै राष्ट्रिय समस्या समाधान नगरी अहिलेको परिस्थितिमै चुनावमा जानु उपयुक्त नहुने बताएका छन् ।

७४औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार भिडियो सन्देश सन्देश सार्वजनिक गर्दै उनले देश अस्वाभाविक छटपटीको भुमरीमा फसेको उल्लेख गर्दै, खराब पक्ष बोकेको व्यवस्थालाई त्यागेर देश र समाजको प्रकृतिसँग मेल खाने सकारात्मक व्यवस्थातर्फ अघि बढ्नुपर्ने धारणा राखेका हुन् ।

पूर्वराजा शाहले कुनै पनि व्यवस्थाका राम्रा र उपयोगी पक्षलाई आत्मसात् गर्नुपर्ने र खराब तथा विकृत पक्षलाई फाल्नुपर्नेमा जोड दिए । “कुनै पनि व्यवस्थाका असल पक्ष टिपेर राख्नुपर्छ, तर नराम्रा र खराब पक्षहरूलाई त्याग्नुपर्छ,” उनले सन्देशमा भनेका छन् ।

प्रजातन्त्रमा आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको अवस्थामा त्यसको औचित्यमाथि प्रश्न उठाउँदै उनले यतिबेला जनताको प्राथमिक चाहना चुनावभन्दा पहिले देशको संकट समाधानतर्फ केन्द्रित रहेको बताए । मुलुकका विद्यमान समस्या समाधान गरेर, द्वन्द्व र अशान्तिको सम्भावना न्यून हुने वातावरण बनाउँदै राष्ट्रिय सहमति र सबैलाई समेट्ने समझदारीका साथ मात्र निर्वाचनतर्फ जानु उपयुक्त हुने उनको भनाइ छ ।

अहिलेको राजनीतिक नेतृत्वप्रति कडा टिप्पणी गर्दै पूर्वराजा शाहले आलोपालो र भागबण्डाको सोचले देश निर्माण हुन नसक्ने बताएका छन् । अधिकार मात्र खोज्ने तर कर्तव्यबाट पन्छिने प्रवृत्ति मौलाएको उल्लेख गर्दै उनले देशलाई ‘बाध्यात्मक व्यवस्थाको जञ्जिर’ मा बाँधिएको जस्तो अवस्था सिर्जना भएको टिप्पणी गरे । साथै, अरूको भरमा परेर निर्णय गर्ने प्रवृत्तिबाट राजनीतिक नेतृत्व मुक्त हुनुपर्ने उनको चेतावनी छ ।

विगतका आन्दोलन र संघर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने विषयमा आत्मसमीक्षा गर्ने समय आएको बताउँदै पूर्वराजाले देशको अस्मिता र अस्तित्व संकटमा परेको अनुभूति हरेक देशभक्त नेपालीले गरिरहेको जिकिर गरे । एक नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिको अन्त्य हुनुपर्नेमा पनि उनले जोड दिए ।

झापा बसाइपछि काठमाडौँ फर्कने क्रममा जनताबाट पाएको स्नेह र समर्थनले आफूलाई राष्ट्रप्रति थप जिम्मेवार बनाएको उल्लेख गर्दै पूर्वराजा शाहले गरिबी र अस्थिरतालाई नेपालको मुख्य शत्रुका रूपमा औंल्याएका छन् ।

प्रजातन्त्र दिवसको सन्दर्भमा उनले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने जिजुबुवा राजा त्रिभुवन तथा ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विश्वसामु नेपालीको शिर उच्च हुने व्यवस्थाको पक्षमा आफू उभिएको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update