नेपाल न्युज प्वाइन्ट डटकम
टी-२० विश्वकप : नेपाल समूह चरणबाटै बाहिरियो, वेस्ट इन्डिज सुपर ८ मा

काठमाडौं : आइसिसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको छ । लगातार तेस्रो हारसँगै नेपाल सुपर–८ को दौडबाट औपचारिक रूपमा बाहिरिएको हो ।

आइतबार भारतको मुम्बईस्थित वानखेडे रंगशालामा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै लगातार तीन खेल जितेको वेस्ट इन्डिज सुपर-८ मा पुग्ने पहिलो टोली बनेको छ ।

वेस्ट इन्डिजका कप्तान शाइ होपले अविजित ६१ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । शिमरन हेटमेयरले ३२ बलमा ४ चौका र २ छक्कासहित अविजित ४६ रन जोडे । दोस्रो विकेटका लागि होप र हेटमेयरबीच ९१ रनको अविजित साझेदारी भयो । ब्रान्डन किङ २२ रनमा आउट भएका थिए । नेपालका लागि नन्दन यादवले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । खराब सुरुवात गरे पनि उपकप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकका कारण नेपालले सम्मानजनक स्कोर खडा गर्न सक्यो । दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्कासहित ५८ रन बनाए ।

दीपेन्द्र टी-२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि सन् २०१४ मा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

सोमपाल कामीले अविजित २६ रन जोड्दा लोकेश बमले १३ रन बनाए । गुल्सन झाले ११ तथा आसिफ शेखले ११ रन जोडे । नेपालले पावरप्ले (६ ओभर) मा ३ विकेट गुमाएर मात्र २२ रन बनाएको थियो, जुन टी-२० विश्वकपमा नेपालको सबैभन्दा कमजोर पावरप्ले स्कोर हो ।

बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए । अकिल हुसेन, म्याथ्यु फोर्ड, सामर जोसेफ र रोस्टन चेसले समान एक–एक विकेट हात पारे ।

समूह ‘सी’ मा वेस्ट इन्डिज ६ अंकसहित शीर्ष स्थानमा छ । दुई जित र एक हारसहित इंग्ल्यान्ड ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । स्कटल्यान्ड र इटली समान २ अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् । लगातार तीन हार बेहोरेको नेपाल अंकविहीन रहेको छ ।

अब नेपालले मंगलबार मुम्बईमै स्कटल्यान्डविरुद्ध समूहको अन्तिम खेल खेल्नेछ । उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update