रुकुम पश्चिम : रुकुम पश्चिमको चौरजहारी नगरपालिका कार्यसम्पादन मूल्यांकनमा देशभर उत्कृष्ट स्थानमा रह्यो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको मूल्यांकनमा चौरजहारी नगरपालिकाले ८२.१५ अंक ल्याउँदै देशकै दोस्रो स्थान हासिल गरेको हो ।
देशभरका ७५३ स्थानीय तहमध्ये पहिलो स्थान अर्घाखाँचीको पाणिनि गाउँपालिकाले ८३.८४ अंकसहित प्राप्त गरेको छ । चौरजहारी नगरपालिकापछि गुल्मीको मालिका गाउँपालिका ८१.९८ अंक र धुर्कोट गाउँपालिका ८०.५२ अंकसहित उत्कृष्ट स्थानीय तहको सूचीमा अघि छन् ।
आयोगले मूल्यांकनको आधारमा १७ वटा सूचक प्रयोग गरेको थियो । यसमा बजेटको समयमै सार्वजनिक र पास गर्ने कार्य, घरजग्गा रजिस्ट्रेसन, मनोरञ्जन र विज्ञापन करबाट उठाएको रकमको ४० प्रतिशत मासिक प्रदेश सञ्चित कोषमा बुझाउने, आगामी आवको बजेट प्रक्षेपण अर्थ मन्त्रालयमा बुझाउने लगायतका वित्तीय सूचक समावेश छन् ।
साथै, राजस्व परिचालन, बजेट खर्चको स्थिति, बेरुजु रकम, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई नतिजा र खोप लगाएका बालबालिकाको अनुपात जस्ता सेवा र सामाजिक सूचक पनि मूल्यांकनको भाग थिए ।
मूल्यांकनका नतिजा अनुसार, मधेस प्रदेशका अधिकांश स्थानीय तहले अपेक्षित स्तरभन्दा कम अंक पाएका छन् ।



