काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्की हिमाली जिल्लाको निर्वाचनको वस्तुस्थिति बुझ्न सोलुखुम्बु पुगेकी छन् ।
फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि प्रधानमन्त्री कार्कीसँगै उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको टोली आज बिहान हेलिकप्टरबाट सोलुखुम्बु पुगेको हो ।
सुरुमा नाम्चे पुगेको टोली अहिले सदरमुकाम सल्लेरी पुगेको छ । प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी र सुरक्षा अंगका जिल्ला प्रमुखहरूले स्वागत गर्दै जिल्लाको अवस्थाबारे जानकारी गराएका छन् ।
अहिलेसम्म हिउँ नपरेकाले फागुन २१ गतेको निर्वाचन गराउन समस्या नहुने ब्रिफिङ जिल्लाका अधिकारीहरूले गरेको प्रेस सल्लाहकार रावलले जानकारी दिएका छन् ।
सोलुखुम्बुमा जिल्लामा १२३ मतदान स्थल छन् । यदि हिउँ परिहालेमा सात वटा मतदान स्थल प्रभावित हुनेछन् । ती सातमध्ये चार वटा मतदान स्थल नाम्चेभन्दा माथि पर्दछन् । अहिलेसम्म ती मतदान स्थल सामान्य अवस्थामा छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रावलका अनुसार आज र भोलि पूर्वी क्षेत्रका हिमाली जिल्लाको अवस्था बुझेर पश्चिम जाने योजना छ ।



