नेपाल न्युज प्वाइन्ट डटकम
वीरगञ्जमा कपडा गोदाममा छापा हान्दा झडप, तीन सशस्त्र प्रहरी घाइते

वीरगञ्ज : वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मार्दा व्यापारी/तस्कर समूहसँग झडप भएको छ । झडपका क्रममा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सोमबार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोली आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरेर राखिएको कपडा बरामद गर्न पुगेको थियो ।

टोलीले गोदाममा खानतलासी सुरु गरेपछि त्यहाँ रहेका व्यापारी तथा तस्कर समूहले कडा विरोध जनाउँदै आक्रमणमा उत्रिएको सशस्त्र प्रहरीले जनाएको छ । आक्रोशित समूहले ढुंगामुढा गरेपछि अवस्था तनावग्रस्त बन्दै झडपको रूप लिएको थियो ।

ढुंगा प्रहारका कारण सशस्त्र प्रहरी बलको एउटा वानटेन र एउटा गाडीमा क्षति पुगेको छ भने तीन जना सशस्त्र प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् । घाइतेहरूको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

छापामारीका क्रममा गोदामबाट साडी, कुर्ता–सुरुवाल लगायतका कपडाका सामग्री बरामद गरिएको छ । बरामद सामानको मूल्य ७ लाख रुपैयाँभन्दा बढी रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update