काठमाडौं : आइसिसी टी-२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग पराजित भएको छ ।
आइतबार भएको खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको हो । वानखाडे क्रिकेट स्टेडियममा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रनको योगदान गरे । त्यस्तै लोकेश बम र रोहित कुरमा पौडेलले ३९–३९ रनको योगदान गरे ।
बलिङतर्फ इंग्ल्यान्डका लागि लिम डसनले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि जेकब वेथेल र कप्तान हेरी बेकरले अर्धशतकीय पारी खेले ।
३५ बल खेलेका जेकबले ४ चौका र ४ छक्काको सहयोगमा ५५ रन बनाए । त्यस्तै ३२ बल खेलेका हेरीले ४ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए ।
इंग्ल्यान्डका लागि विल ज्याकले ३९ रन बनाए । बलिङतर्फ नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई दुई विकेट लिए । त्यस्तै शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए ।



