काठमाडौं : चुनावी अभियानका क्रममा रौतहटमा सवारीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएपछि रास्वपाले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ । पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै पार्टीका तर्फबाट मृतक परिवारमा आवश्यक राहत तथा सहयोग गर्न तयार रहेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यन्तै स्तब्ध र मर्माहत भएको छ। यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं।
पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ। घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौं। कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन। साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौं।
चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशन समेत जारी गर्दछौं।’



