काठमाडौं : आइसिसी टी-२० विश्वकपअघि खेलेको दोस्रो वार्मअप खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ । बिहीबार भारतको चेन्नईमा भएको खेलमा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जीतमा ओपनर आसिफ शेखले सर्वाधिक ५८ रन बनाएर रिटायर्ड आउट भए । सन्दीप जोराले ४४ रनको योगदान दिए भने गुल्शन झाले ३१ रन जोडे । कुशल भुर्तेलले १२ र दीपेन्द्रसिंह ऐरीले ९ रन बनाए ।
क्यानडाका लागि अजयविर सिंह, जसकरन सिंह र साद बिन जफरले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । क्यानडाका नवनित धलिवालले ४१ रन बनाए भने श्रेयस मोभाले ३९ रन जोडे । कनवारपाल तथागरले २५ र निकोलस किर्टनले १० रनको योगदान दिएका थिए ।
नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई-दुई विकेट लिए भने नन्दन यादव र सोमपाल कामीले एक-एक विकेट झारे ।
नेपालले यसअघि पहिलो वार्मअप खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो । साथै, विश्वकप तयारीकै क्रममा मुम्बईमा एमसिए प्रेसिडेन्ट ११ सँग खेलेका दुई अभ्यास खेल पनि नेपालले जितेको थियो ।



