काठमाडौं : आइसीसी टी–२० विश्वकपअन्तर्गतको वार्म अप खेलमा नेपालले युएईमाथि ७ विकेटको सहज जित निकालेको छ । भारतको चेन्नईमा मंगलबार भएको खेलमा नेपालको जितमा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको शतककीय सझोदारी गरे ।
युएईले दिएको १४६ रनको लक्ष्य नेपालमा १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका ओपनर कुशल भुर्तेल ८ रन बनाएर आउट भए । आसिफ शेखले ८ रन जोड्दा कप्तान रोहित पौडेल १६ रनमा रनआउट भए ।
दीपेन्द्र सिंह ऐरीले ३१ बलमा ४ चौका र १ छक्काको मद्दतमा नटआउट ५० रन बनाए । आक्रामक ब्याटिङ गरेका आरिफले ३७ बलमा ८ चौका र २ छक्काको मद्दतमा नटआउट ६१ रनको योगदान गरे ।
पी चिदम्बरमा रंगशालामा पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । युएईका ओपनर तथा कप्तान मोहमद वासिम ६ रनमा आउट भए । आर्यांश शर्माले २५, मोहमद जोहाइबले १९ रन बनाए भने सोहेब खान ३८ रनमा नटआउट रहे ।
बलिङमा नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरीको नाममा १ विकेट रह्यो । अब नेपालले विश्वकपअघि दोस्रो वार्म अप खेल क्यानडासँग २२ माघमा खेल्नेछ । यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’मा छ । यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् ।


