काठमाडौं : नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले एक कार्यक्रमको आयोजना गरी आफ्नो १९औं स्थापना दिवस मनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठले संगठनको स्थापना विशिष्ट ऐतिहासिक परिस्थितिमा भएको उल्लेख गरे । उनले जनयुद्ध र जनआन्दोलनको बलमा संगठनको जन्म भएको स्मरण गर्दै परम्परागत ब्युरोक्रेसीमा देखिएका विकृति र विसंगतिविरुद्ध आवाज उठाउने उद्देश्यका साथ संगठन स्थापना गरिएको स्पष्ट पारे ।

अध्यक्ष श्रेष्ठले संगठनले कर्मचारीतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन रचनात्मक तथा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । साथै संगठनमा आवद्ध कर्मचारीहरूले सेवाग्राहीमैत्री व्यवहार अपनाउँदै भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा अग्रपंक्तिमा उभिनुपर्ने बताए ।
कार्यक्रममा अध्यक्षीय मन्तव्य राख्दै संगठनका अध्यक्ष अम्बादत्त भट्टले स्थापना दिवसका अवसरमा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै एकता नै संगठनको शक्ति भएको उल्लेख गरे । उनले ‘जेनजी विद्रोह’ को नाममा संगठनको भौतिक सम्पत्तिमाथि गरिएको आक्रमण र त्यसबाट पुगेको क्षतिबारे जानकारी गराए । भट्टका अनुसार भदौ २४ गते बबरमहलस्थित संगठनको केन्द्रीय कार्यालय भवनमा आगजनी गरिएको थियो ।

अध्यक्ष अम्बादत्त भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संगठनका महासचिव डिलाराम खनालले गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी महासंघका महासचिव दमन रावल, कार्यालय सचिव रमा घिमिरे, विभिन्न राष्ट्रिय समितिका अध्यक्षहरू, सचिवालय सदस्यहरू तथा निजामती राष्ट्रिय समिति अन्तर्गतका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
स्थापना दिवसको कार्यक्रमले संगठनको इतिहास, उद्देश्य र भावी दिशाबारे साझा बुझाइ बनाउँदै एकता र प्रतिबद्धतालाई थप सुदृढ बनाएको नेता प्रकाश अवालेले प्रतिक्रिया दिएका छन् ।



