काठमाडौं : सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसदबाट फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ल्याएको यो विधेयक १५ माघ २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । विवादका कारण लामो समयसम्म अघि बढ्न नसकेको विधेयक २७ माघ २०८१ मा राष्ट्रिय सभामा प्रस्तुत गरिएको थियो भने ३ भदौ २०८२ मा यसमाथि सामान्य छलफल भएको थियो ।
प्रस्तावित विधेयकको उद्देश्य सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने उल्लेख गरिएको थियो ।
यससँगै सामाजिक सञ्जालसम्बन्धी छुट्टै कानुन आवश्यक परे सरकारले नयाँ विधेयक ल्याउनुपर्ने हुन्छ ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्न पनि स्वीकृति दिएको छ ।


