नेपाल न्युज प्वाइन्ट डटकम
विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारी घुससहित पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालयअन्तर्गत हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाल रहेका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार कार्यालय सहयोगी पुडासैनीको साथबाट घुस लिएको १० हजार रुपैयाँसहित १ लाख ३६ हजार ४२० रुपैयाँ गरी कुल १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ । त्यस्तै नायब सुब्बा रिजालको साथबाट घुस लिएको २० हजार रुपैयाँ र स्रोत नखुलेको रकमसमेत गरी २ लाख ६८ हजार २८८ रुपैयाँ फेला परेको छ ।

तीन जनाको साथबाट कुल ४ लाख ५३ हजार ५६ रुपैयाँ नगद तथा २३ थान मोबाइल फोन बरामद गरिएको अख्तियारले जनाएको छ ।

कुरियर कम्पनीमार्फत विदेश पठाइने सामानमा अनियमितता गर्दै सेवाग्राहीसँग घुस माग्ने गरेको सूचना पाएपछि अख्तियारले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update