काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा सिमेन्ट उत्पादनका क्रममा प्रयोग हुने कच्चा पदार्थ ‘क्लिंकर’ मा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले पौडेलसहित निमित्त महाप्रबन्धक नवल किशोर साह, नायव महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेश साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, अर्का प्रमुख हरि अधिकारी, बिक्री विभाग प्रमुख रामबहादुर जिसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७७ साल पुस मसान्तसम्मको अवधिमा कागजी अभिलेखमा देखाइएको स्टक र भौतिक परीक्षण गर्दा क्लिंकरको मात्रा फरक परेको पाइएको हो । अनुसन्धानका क्रममा कुल ३८ हजार ७६९ मेट्रिक टन क्लिंकर कम देखिएको अख्तियारको निष्कर्ष छ ।
कर्मचारीहरूले आपसी मिलेमतोमा क्लिंकरको स्टक कम देखाई उद्योगलाई ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रुपैयाँ २६ पैसा बराबरको सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याएको आरोप पत्रमा उल्लेख गरिएको छ ।
अख्तियारले तत्कालीन महाप्रबन्धक पौडेलसँग १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ बिगो दाबी गरेको छ । त्यस्तै, तत्कालीन निमित्त महाप्रबन्धक महेशप्रसाद काफ्लेसँग १२ करोड ६३ लाख ६९ हजार १६८ रुपैयाँ र अर्का निमित्त महाप्रबन्धक नवलकिशोर शाहसँग ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ बिगो माग गरिएको छ ।
यस्तै, तत्कालीन उत्पादन महाशाखा प्रमुख संजयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद साह, क्लिंकर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी र बिक्री विभाग प्रमुख रामबहादुर जीसीसँग पनि जनही ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ २६ पैसा बिगो दाबी गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा महालेखा परीक्षकको प्रतिवेदनमा क्लिंकरको खपत बढी तर उत्पादन कम देखिएको उल्लेख भएपछि अख्तियारले अनुसन्धान थालेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताएका छन् ।



