काठमाडौं : नेपाली महिला यु– २० महिला टोलीले चीनको युनान युवा टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा ३–१ को पुनरागमन जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपाललाई जित दिलाउन सुक्रिया मिया, कप्तान बिर्सना चौधरी र सजनी स्याङतानले एक–एक गोल गरे । युनानका लागि सी साओटिंगले एक गोल गरिन् ।
खेलको ४१ औँ मिनेटमा साओटिंगको गोलमार्फत युनानले अग्रता लिएको थियो । तर, खेलको अन्त्यतिर सम्हालिन नसक्दा टोली स्तब्ध बन्न पुग्यो ।
सुक्रियाले ८४ औँ मिनेटमा नेपाललाई बराबरीमा ल्याइन् । तीन मिनेटपछि नै बिर्सनाले गोल गर्दा नेपाल २–१ ले अगाडि बढ्यो । इन्जुरी समयमा सजनीले नेपालका लागि तेस्रो गोल गरिन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजना तथा नेपालस्थित चिनियाँ राजदुतावास र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समन्वयमा खेल भएको हो ।
चिनियाँ नयाँ वर्षको अवसर पारेर एन्फाले विगत ३ वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीबीच यस्ता मैत्रीपूर्ण खेलको आयोजना गर्दै आइरहेको छ ।


