काठमाडौं : प्रहरीले काठमाडौंमा रातिको समयमा लुटपाट र आतंक मच्चाउने १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी उक्त लुटपाट र आतंक मच्चाउने १० जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
प्रहरीले बुधबारदेखि सर्च अपरेसन चलाएर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए । उनीहरूले जेनजी आन्दोलनपछि राति १२ बजेपछि बिहान ४ बजेसम्मको समयमा हिँड्ने व्यक्तिहरूलाई लक्षित गरेर लुटपाट गर्ने गरेको थापाले बताए ।
लुटपाट गर्ने गिरोहको नाइके विनय तामाङ रहेको उनले जानकारी दिए । उनकाअनुसार तामाङ जेनजी आन्दोलन अगाडि पनि बुढानीलकण्ठ क्षेत्रमा चोरी गरेको आरोपमा पक्राउ परी महाराजगञ्ज प्रहरीको हिरासतमा थिए । भदौ २४ मा उनी हिरासतबाट भागेका थिए । हिरासतबाट भागेपछि समूह बनाएर विभिन्न ठाउँमा लुटपाट गर्ने गिरोह गठन गरेर सक्रिय भएको उनले बताए ।
बुधबार साँझदेखि बिहीबार बिहानसम्म सञ्चालन गरेको सर्च अपरेसनमार्फत उनीहरूलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए । पक्राउका क्रममा दोहोरो झडप हुँदा प्रहरी र विनय तामाङ घाइते भएका छन् । हालसम्म उक्त गिरोहले स्वयम्भूमा ७ वटा, महाराजगञ्ज तथा बुढानिलकण्ठ क्षेत्र, बौद्ध क्षेत्र र गौशला क्षेत्रमा ३/३ वटा र ठिमीको क्षेत्रमा १३ वटा लुटपाट गरेको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।
उनीहरूविरुद्ध हालसम्म २७ वटा जाहेरी आएका छन् । पक्राउ पर्नेहरूमा विनयसँगै आयन माझी, मनिस रसाईली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा, फुर्वा तामाङ रहेका छन् । उनीहरूसँगबाट प्रहरीले ३ वटा मोटर साईकल, एउटा ट्याक्सी तथा सुनका गरगहना तथा नगद रुपैयाँ बरामद गरेको छ ।
प्रहरीकाअनुसार पक्राउ परेका सबै जना विगतमा पनि चोरी र डाका मुद्दामा पक्राउ परेका व्यक्तिहरू रहेका छन् । महिलाहरूको कानको गहना लुस्ने र एकान्तमा मानिसहरूलाई लुटेर उनीहरू मोटरसाइकलमा भाग्ने गरेका थिए । लुटपाटमा संलग्नहरू काभ्रे, रामेछाप र सिन्धुली क्षेत्रका रहेका छन् ।



