नेपाल न्युज प्वाइन्ट डटकम
स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकपमा पुग्ने नेपालको सपना अधुरै

काठमाडौं : स्कटल्यान्डसँग ७२ रनले पराजित भएसँगै घरेलु टोली नेपाल आईसीसी टी– २० विश्वकपको ग्लोबल क्वालिफायरमा समूह चरणबाटै बाहिरिएको छ । यससँगै विश्वकपमा पुग्ने नेपालकाे सपना अधुरै रह्याे ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमा ६८ रनमै समेटियो ।

नेपालका लागि रोम थापाले अविजित १४, विन्दु रावलले १४ र रुविना क्षेत्रीले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अब्ताहा मकसुदले ३, क्याथरिन फ्रेजर र कप्तान क्याथरिन ब्राइसले २–२ तथा राहेल स्लेटर र ओलिभिया बेलले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रनको योगफल तयार पारेको थियो ।

प्रियनाज चटर्जीले अविजित ४५, एल्सा लिस्टरले २२, सारा ब्राइसले १८, मेगन म्याककोलले १७ र राहेल स्लेटरले ११ रन बनाए ।

नेपालका लागि मनिषा उपध्यायले ४, रुविना क्षेत्रीले ३, रिया शर्मा, सीता रानामगर र कविता जोशीले १–१ विकेट लिए ।

यो हारसँगै ४ खेलमा २ अंक जोडेको नेपाल समूह ‘बी’ को चौथो स्थानमा रह्यो । जित निकालेको स्कटल्यान्डले भने समान खेलबाट ४ अंकका साथ सुपर सिक्सको यात्रा तय गरेको छ । स्कटल्यान्डको जितसँगै थाइल्यान्ड पनि सुपर सिक्समा पुगेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update