काठमाडौं : गोर्खा मिडिया प्रालिसँग जोडिएको सहकारी ठगी मुद्दामा संलग्न सबै अभियुक्तविरुद्ध लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता हुने भएको छ । महान्यायाधिवक्ता सविता भण्डारी बरालले यस सम्बन्धमा दुईवटा अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी हुन् ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हकमा मात्रै यस्ता अभियोग फिर्ता लिने निर्णय गरिएको थियो । तर उक्त निर्णयले विवाद उत्पन्न गरेपछि महान्यायाधिवक्ता कार्यालयले दायरा विस्तार गर्दै जीबी राई, छविराज जोशी लगायत सबै अभियुक्तको हकमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता गर्ने निर्णय गरेको हो ।
रवि लामिछानेबाहेक अन्य अभियुक्तको हकमा शुक्रबार निर्णय गरिएको बताइएको छ । अब सबै अभियुक्तले सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै सामना गर्नुपर्नेछ । साथै पीडितको रकम फिर्ता गरेमा मिलापत्रमार्फत मुद्दा टुंग्याउने बाटो समेत खुला भएको छ ।
महान्यायाधिवक्ताको निर्णयअनुसार रवि लामिछाने प्रतिवादी रहेका कास्की, काठमाडौं, रुपन्देही, पर्सा र चितवन जिल्ला अदालतमा विचाराधीन मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग कायम नरहने गरी अभियोग संशोधन हुनेछ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम ठगी तथा सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् रहने निर्णयमा उल्लेख छ ।


