नेपाल न्युज प्वाइन्ट डटकम
थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु

काठमाडौँ : बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ ।

थाइल्याण्डको उत्तर(पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक रेलमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको समाचार संस्था अलजजिराले जनाएको छ ।

यो दुर्घटना बुधबार बिहान बैंककबाट २३० किलोमिटर उत्तर-पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा भएको हो । उक्त रेल थाई राजधानी बैंककबाट उबोन रत्चाथानी प्रान्ततर्फ जाँदै थियो ।

एउटा उच्च गतिको रेल मार्ग निर्माण भइरहेको स्थान मुनिबाट गुडिरहेको बेला माथि काम गरिरहेको क्रेन भत्किएर रेलमा खसेको थियो ।

क्रेनले ठक्कर दिएपछि रेल लिकबाट बाहिरिएको थियो र त्यसलगत्तै केही बेर आगलागी समेत भएको थियो,’ अलजजिराका स्थानीय रिपोर्टरले भनेका छन् ।

उनले थपे, ‘प्रारम्भिक रिपोर्टहरूमा ४ जनाको मात्र मृत्यु भएको भनिएको थियो। तर यो सङ्ख्या चाँडै बढेर १२ पुग्यो । अहिले थाई प्रहरीले दिएको जानकारी अनुसार मृतकको सङ्ख्या २२ पुगेको छ र यो अझै बढ्न सक्ने अनुमान गरिएको छ ।’

प्रहरीका अनुसार दुर्घटनामा ५५ जना घाइते भएका छन् र अहिले पनि दुर्घटनास्थलमा उद्धार कार्य जारी छ ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update