नेपाल न्युज प्वाइन्ट डटकम
निर्वाचन स्थगित गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं : आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनको सबै प्रक्रिया स्थगित गर्न सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता कीर्तीनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर मंगलबार रिट दायर गरेका हुन् ।

उनले रिटमा निर्वाचन तालिका अनुसार सञ्चालन हुन लागेको सम्पूर्ण प्रक्रिया तत्काल रोक्न अदालतसँग माग गरेका छन् । विशेषगरी, माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुने उम्मेदवारको मनोनयनपत्र दर्ता प्रक्रिया र त्यससँग सम्बन्धित सबै कार्य तत्काल स्थगित हुनुपर्ने अनुरोध राखिएको छ ।

अधिवक्ता शर्माका अनुसार, प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी पहिले दर्ता भएको रिटलाई असर गर्नेगरी हाल सार्वजनिक भएको निर्वाचन कार्यतालिकाले नयाँ रिट दायर गर्न प्रेरित गरेको हो ।

निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने समय माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ । त्यही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म उजुरी र मनोनयनपत्रको जाँच गरी निर्णय गरिनेछ ।

मनोनयनको अन्तिम नामावली माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म प्रकाशित गरिनेछ । उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने समय माघ ९ गते बिहान १० बजे देखि दिउँसो १ बजेसम्म तोकिएको छ भने अन्तिम नामावली सोही दिन दिउँसो १ बजे देखि ३ बजेसम्म प्रकाशित गरिनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम दिउँसो ४ बजे देखि साँझ ७ बजेसम्म रहनेछ ।

अधिवक्ता शर्माले भने, “निर्वाचन कार्यक्रम सार्वजनिक भएपछि पहिलेको रिटलाई असर पुग्ने सम्भावना रहेकाले नयाँ रिट दायर गर्नु आवश्यक भयो । अदालतले यसलाई ध्यानमा राख्दै आवश्यक आदेश दिनुपर्छ ।”

सर्वोच्च अदालतले रिटको पेसी माघ ६ गतेलाई तोकेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update