काठमाडौं : सोमबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ । बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड)को सदस्य राष्ट्रका रूपमा नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानबापत २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिएको छ ।
यस्तै, वित्तीय क्षेत्रको दिगो विकास र सुधारका लागि ‘वित्तीय क्षेत्र विकास रणनीति २०८२–०८३ देखि २०८६–०८७’ स्वीकृत गरिएको छ । सरकारले उक्त रणनीतिले बैंक तथा वित्तीय संस्थाको स्थायित्व र सुशासनमा योगदान गर्ने विश्वास व्यक्त गरेको छ ।
बैठकले सन् २०२५ मार्चमा गएको भूकम्पबाट क्षतिग्रस्त म्यानमारका धार्मिक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ । यसअनुसार महामुनीफैया बौद्ध पगोडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि ३ लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान गरिनेछ ।
त्यसैगरी, मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गरिएको छ । उक्त नीतिले मानव बेचबिखन रोकथाम, पीडितको संरक्षण र पुनःस्थापनामा राज्यको भूमिका थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
प्रशासनिक निर्णयतर्फ गोरखापत्र संस्थानको अध्यक्ष पदमा भक्तपुरका गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता खरेलले बताए ।


