एजेन्सी : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा पोस्ट गरेको एक तस्बिरले अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ । उक्त पोस्टमा ट्रम्पले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भनेर घोषणा गरेका छन् ।
उनले सेयर गरेको तस्बिरमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ ।
त्यसै पोस्टमा ट्रम्प संयुक्त राज्य अमेरिकाका ४५औं र ४७औं राष्ट्रपति भएको उल्लेख छ र उनले यो पद २० जनवरी २०२५ मा सम्हालेको भनिएको छ ।
तर वास्तविकतामा भेनेजुएलाको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज हुन् । ट्रम्पको यो पोस्टलाई धेरैले राजनीतिक व्यंग्य, सन्देशात्मक प्रचार वा कूटनीतिक दबाबको संकेतका रूपमा लिएका छन् ।
यही महिनाको सुरुवातमा अमेरिकाले भेनेजुएलामाथि ‘बृहत् सैन्य कारबाही’ गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको थियो । मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्युयोर्क लगिएको छ भने उनीहरूविरुद्ध नार्को–आतंकवाद सम्बन्धी षड्यन्त्रको अभियोग दायर गरिएको छ ।



