वीरगन्ज : धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगन्जमा लागू गरिएको कर्फ्यु मंगलबार साँझ ६ बजेसम्म थप गरिएको छ । स्थानीय प्रशासनले सोमबार साँझदेखि जारी कर्फ्युलाई पटक–पटक समीक्षा गर्दै अवधि बढाएको हो ।
यसअघि सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो । त्यसपछि अवस्था सामान्य नहुँदा कर्फ्यु मंगलबार दिउँसो १ बजेसम्म लम्ब्याइएको थियो । तर शान्ति सुरक्षा अवस्था अझै सहज नभएको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय पर्साले पुनः कर्फ्यु अवधि बढाएर साँझ ६ बजेसम्म कायम राखेको जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालका अनुसार वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा कुनै पनि किसिमको भेला, सभा, जुलुस, प्रदर्शन तथा गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ । कर्फ्यु लागू क्षेत्र पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया नदी (पुल), उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म फैलिएको छ ।
प्रशासनले कर्फ्यु अवधिभर अत्यावश्यक सेवा बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । अत्यावश्यक रूपमा बाहिर निस्कनु परे नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न वा १०० नम्बरमा फोन गरेर अनुमति लिन अनुरोध गरिएको छ ।
कर्फ्यु आदेशका क्रममा एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा यात्रा गर्ने हवाई यात्रुहरूको आवागमनलाई सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ ।
धार्मिक एवं सामाजिक विषयलाई लिएर आइतबारदेखि वीरगन्जमा दुई समुदायबीच निरन्तर प्रदर्शन हुँदै आएको छ। धनुषामा मस्जिद तोडफोडको घटनापछि स्थिति थप चर्किँदा वीरगन्जमा पनि सुरक्षा चुनौती बढेको प्रशासनको भनाइ छ । मुस्लिम र हिन्दु समुदाय एक–अर्काविरुद्ध प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा आवश्यक परेको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको विज्ञप्तिमा कर्फ्यु आदेश उल्लंघन गर्नेहरूमाथि कडा कानुनी कारबाही गरिने स्पष्ट गरिएको छ । आवश्यक परे सुरक्षाकर्मीलाई गोली चलाउनसमेत अधिकार दिइएको उल्लेख गर्दै प्रशासनले सर्वसाधारणलाई संयमित रहन र आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।


