नेपाल न्युज प्वाइन्ट डटकम
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १३ करोड ३५ लाख रुपैयाँ संकलन

काठमाडौं : गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा हालसम्म १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म उक्त रकम जम्मा भएको हो । कोषमा आज मात्रै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको पनि मन्त्रालयले जनाएको छ । गत हप्ता मेटलाइफ नेपालले २५ लाख रुपैयाँ र त्यसअघि दि ओरिएन्टल इन्स्योरेन्सले २० लाख रुपैयाँ सहयोग गरेका थिए ।

जेनजी प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण लागि सरकारले उक्त कोष स्थापना गरेको थियो । कोषमा योगदानका लागि सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, विभिन्न संघसंस्था, दातृ निकायलगायतलाई आग्रह गरेको थियो । 

पुनर्निर्माण कोषमा गरिने आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न पाइने सुविधा सरकारले दिएको छ ।

पुनर्निर्माणका कोषका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरवार शाखामा खाता खोलिएको छ । योगदानकर्ताले कोषको खाता नम्बर १९६०१००१०२०७०००४ मा सहायता रकम जम्मा गर्न सक्नेछन् ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update