नेपाल न्युज प्वाइन्ट डटकम
अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुन सक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिसोले गर्दा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत लक्षण भएका बिरामीको संख्या बढ्ने भएकाले चिसोमा बाहिर ननिस्कन अनुरोध गरेका हुन् ।

'जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, हुस्सु, कुहिरो र हिमपातले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मिया जस्ता लक्षण भएका बिरामीहरू बढ्ने गरेका छन,' उनले भने ।

उनले चिसोका कारण देखिने समस्या रहिरहे वा बढेमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा हेलो स्वास्थ्य कल सेन्टर १११५ बाट परामर्श लिनसमेत अनुरोध गरेका छन् । उनका अनुसार जाडोयाममा बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा दीर्घरोगी बढी जोखिममा हुने गरेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अंगमा गम्भीर असर पार्नुका साथै दम, क्यान्सरजस्ता दीर्घरोगको जोखिम र मृत्युदर बढाउने बताए ।

'चिसोका कारण उत्पन्न हुने सक्ने लक्षण वा रोगलाई न्यून गर्न तथा लाग्न नदिन, धुवाँधुलोबाट बच्ने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिन 'सी' पर्याप्त मात्रा भएका सुन्तला, कागती र अमला खाने, मौसमअनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा ध्यान दिने र प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्नुपर्ने हुन्छ,' उनले भने ।

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update