सुनसरी : सुनसरीको सीमावर्ती क्षेत्र नजिक सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय क्षेत्र तनावग्रस्त बनेको छ । सशस्त्र प्रहरीको गोली लागेर मृत्यु हुनेमा कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साह रहेका छन् ।
घटना बिहीबार राति करिब १ बजे भएको स्थानीयले बताएका छन् । गोली चलेको आवाज सुनेपछि बाहिर निस्कँदा वरपर सशस्त्र प्रहरी देखिएको र एक व्यक्ति गोली लागेर ढलेको अवस्थामा भेटिएको उनीहरूको भनाइ छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका प्रमुख एसपी निर्मल थापाका अनुसार भन्सार छली गरिएका सामान बोकेको अटो नियन्त्रणमा लिने क्रममा घटना भएको हो । उनका अनुसार दुई वटा सफारी गाडीमा आएका व्यक्तिहरूले सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको र सोही क्रममा जवाफी फायरिङ गरिएको थियो । उक्त फायरिङका क्रममा पछाडिबाट चिनीका बोरा बोकेर आइरहेको सिटी अटो चालक विजय साहलाई गोली लागेको एसपी थापाले बताए ।
तर स्थानीयले भने सशस्त्र प्रहरीको दाबी अस्वीकार गर्दै घटनालाई ‘ज्यादती’ भनेका छन् । उनीहरूले सशस्त्र प्रहरीमाथि सेटिङको आरोप लगाउँदै रकम नपाएको निहुँमा गरिखाने सर्वसाधारणमाथि गोली चलाएर हत्या गरिएको दाबी गरेका छन् ।
विजय साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गअन्तर्गत लौकही खण्डमा शव राखेर सडक अवरुद्ध गर्दै प्रदर्शन चर्काएका छन् । प्रदर्शनका क्रममा सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी तथा तोडफोडसमेत गरिएको छ । आक्रोशित भीडले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले केही राउन्ड हवाई फायर र अश्रु ग्यास प्रहार गर्नुपरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार प्रदर्शनका कारण ठुला सवारी साधन पूर्ण रूपमा रोकिएका छन् भने मोटरसाइकल मात्र आंशिक रूपमा सञ्चालनमा छन् । स्थानीयले दोषीमाथि तत्काल कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।
घटनास्थल र आसपासका क्षेत्रमा सम्भावित तनावलाई ध्यानमा राख्दै सुरक्षाकर्मीको संख्या बढाइएको छ ।


