काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे सहितले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको पूर्ण इजलासले रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।
रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ ।
गत मंसिर २१ गते प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसले सर्वोच्च अदालतमा रिट दिएको थियो ।
संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक व्यक्तिको सिफारिसमा संविधानविपरीत संसद् विघटन गरिएकाले तत्काल पुनर्स्थापनाको माग गर्दै रिट दायर गरिएको थियो ।


