काठमाडौं : उत्कृष्ट बलिङ प्रेरित लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनको फाइनलमा स्थान बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा लुम्बिनीले बिहीबार विराटनगर किंग्सलाई ४० रनले हराउँदै एनपिएलको फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको हो । एनपिएलमा पहिलोपल्ट प्लेअफमा पुगेको लुम्बिनी फाइनलमा पुग्दा विराटनगर भने असफल भयो ।
लगातार पाँचौं जितपछि लुम्बिनी उपाधिका लागि एक कदम मात्र पछि छ । लुम्बिनीले इलिमिनेटरमा काठमाडौं गोर्खाजमाथि चार विकेटको जित निकाल्दै विराटनगरसँग भेट पक्का गरेको हो । काठमाडौंविरुद्ध उत्कृष्ट बलिङ गरेपछि लुम्बिनी दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । विराटनगरसँग पनि लुम्बिनीले उत्कृष्ट बलिङ लय जारी राख्यो ।
लिगको अन्तिम खेलमा विराटनगरले सुदूरपश्चिमसँग उत्कृष्ट ब्याटिङ गरेको थियो । तर प्लेअफमा खराब ब्याटिङ गरेपछि विराटनगरको फाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन । गत मंगलबार पहिलो क्वालिफायरमा विराटनगर सुदूरपश्चिमसँग ७७ रनले पराजित भएको थियो । यस क्रममा विराटनगर ७८ रनमा नै अलआउट हुन पुग्यो । लुम्बिनीसँग पनि विराटनगर ९४ रनमै अलआउट भयो । दुवै खेलमा शीर्ष क्रमले खराब ब्याटिङ गरे ।
यद्यपि, लुम्बिनीले पनि ब्याटिङमा निकै संघर्ष गरेको थियो । त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले एक सय ३५ रनको मध्यम लक्ष्य दिएको थियो । जबाफमा विराटनगर १७.५ ओभरमा ९४ रनमा नै अलआउट भयो । यस सिजनमा विराटनगर लुम्बिनीसँग दोस्रोपल्ट पराजित भएको हो । लिग चरणमा पनि विराटनगर पाँच विकेटले पराजित भएको थियो ।
विराटनगरले त्यो खराब नतिजा प्लेअफमा पनि जारी राख्यो । मध्यम लक्ष्य पछ्याए पनि विराटनगरले फेरि खराब सुरुवात गर्यो । शीर्ष क्रमका चार ब्याटर सस्तैमा आउट भए । पहिलो ओभरमै ओपनर मार्टिन गप्टिल २ र लोकेश बम शून्यमा आउट भएपछि विराटनगरलाई ठुलो झड्का लाग्यो । नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलमेनले पहिलो दुई विकेट लिँदै लुम्बिनीलाई राम्रो सुरुवात दिलाए । स्पिनर शेर मल्लले दोस्रो ओभरमै अर्का ओपनर फाप डुप्लेसिसलाई पनि ३ रनमै पभेलियन फर्किए । त्यसपछि आएका शंकर राना ७ रनमै आउट भए । यससँगै ६.३ ओभरमा विराटनगर ३०/४ को नाजुक अवस्थामा पुग्यो । पाँचौं विकेटका लागि साम हेजलेट र मार्चन्ट डे लांगेबीच २८ रनको साझेदारी भयो ।
तर १०औं ओभरमा जेजे स्मितले हेजलेटलाई ३४ रनमा क्याच गराउँदै ठुलो सफलता दिलाए । हेजलेटले २८ बलमा समान दुई चौका र छक्का हिर्काए । यो विकेटसँगै फेरि विराटनगर समस्यामा पर्यो । १५औं ओभरमा मार्चन्ट १७ रन बनाएर आउट भए । तल्लो क्रमका ब्याटर नरेन भट्टले २१ रन जोडे । उनले २१ बलमा एक चौका र दुई छक्का प्रहार गरे । त्यसबाहेक अन्य ब्याटर सस्तैमा आउट हुँदा लिगमा दोस्रो स्थानमा रहेको विराटनगर फाइनलमा पुग्न असफल भयो । लुम्बिनीको बलिङमा तिलक भण्डारीले तीन तथा अभिशेष गौतम, जेजे स्मित र ट्रम्पलमेनले समान दुई र शेर मल्लले एक विकेट लिए । शेरबाहेक सबैले किफायती बलिङ पनि गरे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी पनि दबाबमा रह्यो । निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन मात्र जोड्न सक्यो । ओपनर डार्सी सटले ४५ रन जोड्दै लुम्बिनीको कमजोर ब्याटिङमा साथ दिए । लुम्बिनीको सुरुवात राम्रो हुन सकेन । पहिलो ओभरमै ओपनर दिनेश अधिकारी १ रनमै आउट भए । तर अर्का ओपनर डार्सीले अर्को छेउबाट इनिङ अगाडि बढाए । उनले दोस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ६९ रनको महत्वपूर्ण साझेदारी बन्यो । १२औं ओभरमा रोहित २९ रनमा पभेलियन फर्किए । उनले २२ बलमा चार चौका प्रहार गरे । लुम्बिनीको तेस्रो विकेटका रूपमा डार्सी नै आउट भए । यी तीनै विकेट सुवास भण्डारीले लिएका हुन् । १३.५ ओभरमा लुम्बिनी ९०/३ को अवस्थामा थियो । त्यसपछि ट्रम्पलमेनले ११ रन जोडे ।
त्यसबाहेक अन्य ब्याटर चल्न सकेनन् । अन्तिम ३७ बलमा लुम्बिनीले ४४ रन मात्र जोड्यो । विराटनगरको बलिङमा सुवासले चार ओभरमा तीन विकेट लिँदा १४ रन मात्र दिए । प्रतीश जिसीले तीन र कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । सन्दीपले चार ओभरमा किफायती बलिङ गर्दै १८ रन मात्र दिए । तर ब्याटिङ चल्न नसक्दा पहिलोपल्ट प्लेअफमा पुगेको विराटनगर फाइनलमा पुग्न सकेन ।


