काठमाडौं : उत्कृष्ट बलिङ प्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको इलिमिनेटरमा लुम्बिनीले बुधबार काठमाडौं गोर्खाजलाई चार विकेटले हराउँदै एनपिएलको दोस्रो क्वालिफायरमा विराटनगर किंग्रससँग भेट पक्का गरेको हो ।
अब लुम्बिनीले बिहीबार नै दोस्रो क्वालिफायरमा विराटनगरसँग खेल्नेछ । विराटनगर भने मंगलबार पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको थियो ।
इलिमिनेटरमा दुवै टोलीले ब्याटिङमा निकै संघर्ष गरे । काठमाडौंले एक सय ११ रनको सामान्य लक्ष्य दियो । जबाफमा लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । ओपनर डार्सी सटले ३३ रन बनाए । यो नै सर्वाधिक ठुलो व्यक्तिगत स्कोर बन्यो । उनले ३४ बलमा दुई छक्का हिर्काए । लुम्बिनीले तेस्रो ओभरमा ओपनर दिनेश अधिकारीलाई ४ रनमा नै गुमायो ।
यो विकेटसँगै लुम्बिनीले दबाबमा रहेर ब्याटिङ गर्यो । त्यसपछि रोहित पौडेलले २५ बलमा १८ रन जोडे । उनको इनिङमा समान एक चौका र छक्का रह्यो । सन्दीप जोराले २३ बलमा २३ र विकेटकिपर निरोशान डिकवेलाले १४ बलमा १४ रन बनाए । लुम्बिनीले सुस्त ब्याटिङ गरे पनि सामान्य लक्ष्य १४ बलअगावै पूरा गर्यो । काठमाडौंको बलिङमा सन्तोष यादवले दुई तथा करण केसी, सन्नी पटेल, साहब आलम र रासिद खानले समान एक विकेट दिलाए पनि हार टार्न सकेनन् ।
यससँगै पहिलोपल्ट प्लेअफमा पुगेको काठमाडौं इलिमिनेटरबाटै दोस्रो सिजनको यात्रा टुंग्याउन बाध्य भयो । सुरुदेखि संघर्ष गरेको काठमाडौं १९.१ ओभरमा एक सय ११ रनमै अलआउट भयो । यससँगै टस जितेर पहिले ब्याटिङ गर्ने काठमाडौंको निर्णय खराब बन्यो । आठौं नम्बरमा आएका सन्तोष यादवले २३ रन बनाए । यो नै सर्वाधिक ठुलो व्यक्तिगत स्कोर रह्यो । उसका शीर्ष चार ब्याटरले नै दोहोरो अंकमा रन बटुल्न सकेनन् । ओपनरद्वय बेन चार्ल्सवर्थ ४ र आकाश त्रिपाठी १ रनमै आउट भए । त्यसपछि सन्नी पटेल ७ र मिलिन्द कुमार २ रनमा पभेलियन फर्किए । तीव्र गतिका बलर रुबेन ट्रम्पलमेन र स्पिनर शेर मल्लले शीर्ष चार ब्याटर सस्तैमा आउट गरेपछि काठमाडौंको सुरवात खराब बन्यो ।
दोस्रो ओभरमा शेरले आकाशलाई कप्तान रोहितबाट क्याच गराउँदै ब्रेक थ्रु दिलाए । तेस्रो ओभरको पहिलो बलमै काठमाडौंले दोस्रो विकेट पनि गुमायो । नामिबियन बलर ट्रम्पलमेनले पटेललाई एलबिडब्लु शिकार बनाए । चौथो ओभरमा शेरले मिलिन्दलाई बोल्ड गर्दै ठुलो झड्का दिए । पाँचौं ओभरमा ट्रम्पलमेनले बेनलाई विकेटकिपर निरोशान डिकवेलाबाट क्याच गराए । यससँगै ४.१ ओभरमा काठमाडौं १४/४ को नाजुक अवस्थामा पुग्यो । यसपछि दबाबमा परेको काठमाडौंले पावरप्लेमा २९ रन मात्र जोड्यो । तर पाँचौं विकेटका लागि भीम सार्की र जोन सिम्पसनले ३६ रनको साझेदारी गर्दै इनिङ समाल्ने प्रयास गरे । दशौं ओभरमा दुवै आउट भए र काठमाडौं थप धराशायी भयो ।
कप्तान रोहितले भीमलाई १४ र सिम्पसनलाई १८ रनमा आउट गरे । ९.२ ओभरमा काठमाडौं ५१/६ को अवस्थामा पुग्यो । खातामा थप एक रन जोड्दै सातौं विकेट पतन भयो । आठौं विकेटका लागि आदिल आलम र सन्तोषबीच २० रनको साझेदारी भयो । १४औं ओभरमा आदिल १८ रन बनाएर आउट भए । शेरको बलमा आउट हुनुअघि आदिलले ११ बलमा एक चौका र दुई छक्का हिर्काए । अन्तिम ओभमा सन्तोष २३ रनमा रनआउट हुन पुगे । सन्तोषले १७ बलमा एक छक्का मात्र प्रहार गरे । लुम्बिनीको बलिङमा शेर मल्ल र कप्तान रोहितले समान तीन तथा ट्रम्पलमेनले दुई र अभिशेष गौतमले एक विकेट लिए । चार ओभर बलिङ गरेका शेरले २२ रन र रोहितले २५ रन दिए ।


