काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरण सम्पन्न भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको छ । जनकपुरविरुद्ध कर्णालीले ३ रनको रोमाञ्चक जित निकाल्यो ।
यससँगै ७ खेलमध्ये ६ खेलमा हार व्यहोरेको साबिक विजेता जनकपुर दुई अंकसहित अंक तालिकाको पुछारमा रहेको छ । अन्तिम खेल जितेको कर्णाली भने ७ खेलमा ५ मा हार, २ मा जित निकाल्दै ४ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।
अन्तिम खेलमा कर्णालीले दिएको १३० रनको लक्ष्य जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रनमात्र बनाउन सक्यो ।
जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ३९ बलमा १ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ५१ रन बनाए । संगीथ कुरले ३२ बलमा २५ रन बनाए भने जान निकोल लफ्टी इटोन १३ रनमा नटआउट रहे । ओपनर माज सदाकत १२ रन बनाए । कर्णालीका लागि विलयम बोसिस्टोले दुई तथा मार्क बोसिस्टो, पवन सर्राफ, नन्दन यादव र सोमपाल कामीले एक-एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो । कर्णालीका लागि ओपनर इमरान शेखले ३२ बलमा १ चौका र १ छक्कको सहयोगमा सर्वाधिक ३३ रन बनाए ।
गुल्सन झाले २० बलमा १९ जोडे भने कप्तान सोमपाल कामीले १० बलमा १ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए । प्रियांक पाञ्चलले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रन बनाए । जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले दुई-दुई तथा संगीथ कुरे, अनिल साह र माज सदाकतले समान एक-एक विकेट लिए ।


