काठमाडौं : गभर्नर डा.विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकले कालोसूचीका प्रावधानमा अध्ययन गरेर रिभ्यु थालेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुलुकमा लगानी नबढ्नुको एउटा कारण कालोसूचीसमेत भएकाले यसमा रिभ्यु गर्नेगरी प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन् । उनकाअनुसार तरलता अहिले व्यप्त छ । यसलाई घटाउन राष्ट्र बैंकले मौद्रिक नीतिलाई लचिलो समेत बनाएको छ । आगामी दिनमा लगानी बढ्दै जाने उनले बताए ।
गभर्नर पौडेलले निर्माण क्षेत्रमा ग्रुपमा गरिएको लगानीमा एक जनाले नराम्रो गरे सबै कालोसूचीमा पर्ने समस्यालाई समेत हटाइने बताए । धितो राखेर ऋणीहरूले लोनहरू लिने र धितो लिलामी गर्दा कम मूल्यांकन गरेर बेच्ने प्रवृत्तिलाई हटाइने समेत गभर्नर पौडेलले बताए ।
उनकाअनुसार यो निजी क्षेत्रमा भएको करप्सनका रुपमा राष्ट्र बैंकले लिएको छ । सरकारी बैंकबाट ऋण मिलाइदिने भन्दै बार्गेनिङ हुँदा सरकारी निकायहरूले रोक्नसक्ने भएपनि निजी बैंकहरूमा हुने त्यस्ता गतिविधिहरू रोक्न चुनौती रहेको उनको भनाइ छ । गभर्नर पौडेलकाअनुसार त्यस्ता गतिविधिलाई राष्ट्र बैंकले गम्भीर रूपमा लिनेछ ।
गभर्नर पौडेलले मौद्रिक नीतिको पहिलो समीक्षामा आफूहरूले धेरै ठुलो लक्ष्य नराखेको बताए । बैंक तथा वित्तिय संस्थाहरूको बैंक शाखाहरूमा आफूहरूले चासो राखेको उनले बताए ।
बैंकहरूको नाफा बढोस् भन्ने उद्देश्यले महानगरभित्रका शाखाहरू समायोजन गर्नसक्ने वातावरण मौद्रिक नीतिको समीक्षामार्फत व्यवस्था गरिएको बताउँदै उनले यो प्रक्रिया अघि बढाइने उल्लेख गरे । बैंकहरूले सही ठाउँमा कर्जा प्रवाह गरेर प्रतिफल कमाउन भन्नेमै आफूहरूको धारणा रहेको उनले बताए ।


