नेपाल न्युज प्वाइन्ट डटकम
पोखराको दोस्रो जित, कर्णाली बाहिरियो

काठमाडौं : एडम रोसिङ्टनको शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा दोस्रो जित निकाल्दै प्लेअफ सम्भावनालाई जीवित राखेको छ ।

कीर्तिपुरमा आफ्नो पाँचौं खेलमा पोखराले मंगलबार कर्णाली याक्समाथि ३४ रनको जितसँगै जारी एनपिएलमा दोस्रो जित निकाल्यो । इङ्लिस ब्याट्सम्यान रोसिङ्टनको शतक पोखराको जितको आधार रह्यो । ओपनर रोसिङ्टन १०८ रनमा नटआउट रहे । यस सिजनको यो दोस्रो शतक हो ।

यसअघि कर्णालीकै ओपनर मार्क वाटले शतक बनाएका थिए । एनपिएलकै दोस्रो सर्वाधिक लक्ष्य पछ्याएको कर्णाली पाँचौं हारसँगै प्लेअफ होडबाट बाहिरियो । पाँचौं खेलबाट दोस्रो जितसँगै पोखरा पाँचौं स्थानमा उक्लियो । इंग्ल्यान्डका पूर्वस्टार जेसन रोयको एनपिएलमा डेब्यु पोखराका लागि सुखद बन्यो । 

त्रिवि क्रिकेट मैदानमा पोखराले दुई सय २ रनको चुनौतीपूर्ण लक्ष्य दियो । त्यो लक्ष्य पछ्याएको कर्णाली १९औं ओभरमा मात्र १६७ रनमै अलआउट भयो । कर्णालीका लागि ओपनर मार्क वाटले ५९ रनको अर्धशतकीय इनिङ खेले । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । वार्ट क्रिजमा रहँदासम्म कर्णालीले पनि आक्रामक ब्याटिङ गर्‍यो । किरण ठगुन्नाले वार्टलाई तृतराज दासद्वारा क्याच गराए । ९.५ ओभरमा कर्णाली ९५/३ विकेटको अवस्थामा पुग्यो । त्यसअघि पावरप्लेमा एक विकेट मात्र गुमाउँदा कर्णालीले ६९ रन जोडेको थियो । ओपनर प्रियान्क पन्चाल १६ रनमा आउट भए । चौथो ओभरमै विकेट गुमाए पनि कर्णालीले आक्रामक ब्याटिङ जारी राख्यो । कर्णालीले ११औं ओभरमै एक सय रनको आकडा छोयो ।

तर अन्तिम ९ ओभरमा ६७ रन जोड्दा कर्णालीले सात विकेट नै गुमायो । कुनै पनि ब्याटरले ठुलो इनिङ खेल्न सकेनन् । मध्य क्रमका ब्याटर नजिबउल्लाह जादरानले २४, पवन सर्राफले १९, कप्तान सोमपाल कामीले १३ र दीपेन्द्र रावतले १० रन जोडे । अन्यले दोहोरो अंकमा नै रन बटुल्न सकेनन् । आशा गरिएका ब्याटर गुलसन झा पनि असफल रहे । पोखराको बलिङमा श्रीलंकन धनन्जय लक्षम र रिषी धवनले समान तीन विकेट लिँदा किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलको नाममा समान एक विकेट रह्यो । त्यसअघि टस जितेको कर्णालीले पोखरालाई ब्याटिङ गर्ने निर्णय दियो । तर, कर्णालीको त्यो निर्णय सही भएन र पोखराले पूरै ओभर खेल्दै मात्र दुई विकेटको क्षतिमा दुई सय १ रनको विशाल योगफल बनायो ।

कप्तान तथा ओपनर कुशल भुर्तेल १८ रनमा आउट भए । उनले १७ बलमा तीन चौका र एक छक्का हिर्काए । तर पोखराले पावरप्लेमा ४४ रन जोड्दै राम्रो सुरुवात पायो । दोस्रो विकेटका लागि ओपनर रोसिङ्टन र रोयले एक सय २७ रनको शतकीय साझेदारी गरेपछि पोखरा विशाल योगफलतर्पm अग्रसर भएको हो । ११.२ ओभरमै पोखराले सय रनको आँकडा पार गरेको थियो । रोय १७औं ओभरमा आउट भए । नन्दन यादवले रोयलाई ४६ रनमा पन्चालबाट क्याच गराए । ३४ बल खेलेका रोयले दुई चौका र तीन छक्का प्रहार गरे । त्यसपछि आएका धनन्जय लक्षणले पनि आक्रामक ब्याटिङ गर्दै रोसिङ्टनलाई साथ दिए ।

लक्षणले ११ बलमा ३३ रन जोडे । उनको इनिङमा तीन चौका र एक छक्का रह्यो । उनी र रोसिङ्टनबीच तेस्रो विकेटका लागि ४० रनको अविजित साझेदारी बन्यो । रोसिङ्टनले ५८ बलमा ११ चौका र सात छक्का प्रहार गरे । उनले ५५ बलमा शतक पूरा गरेका थिए । कर्णालीको बलिङमा नन्दन र मार्कले समान एक विकेट लिँदा अन्य पाँच बलर विकेटविहीन भए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update