नेपाल न्युज प्वाइन्ट डटकम
माज र अनिलको अर्धशतकमा जनकपुरको जित

काठमाडौं : अनिल शाह र माज सदाकतको उत्कृष्ट अर्धशतकीय साझेदारीले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले लगातार चार खेलको हार रोक्दै सिद्धार्थ बैंक एनपीएल २०२५ मा पहिलो जित दर्ता गरेको छ ।

चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । पाँच खेलपछि पहिलो जीतसँगै जनकपुरले २ अंक जोड्दै प्लेअफको सम्भावना जिउँदो राखेको छ ।

चितवनले भने पाँच खेलमा तेस्रो हार व्यहोरेको छ र ४ अंकसहित चौथो स्थानमा छ ।

पाकिस्तानी अलराउन्डर माज सदाकतले ३० बलमा ६ चौका र ४ छक्कासहित ६३ रन बनाए । अनिल शाहले पनि ३६ बलमा ६१ रन प्रहार गर्दै बलियो योगदान दिए ।

पहिलो विकेटमा माज र आसिफ शेखले ४५ रन जोडे भने, दोस्रो विकेटमा माज र अनिलबीच ७९ रनको साझेदारी बन्यो । अन्त्यतिर आदित्य महताले ७ बलमा अविजित १८ रन जोडे ।

चितवनका सोहेल तनविर, कमलसिंह ऐरी र अमर सिंह राउटेला सबैले १-१ विकेट हात पारे ।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update