नेपाल न्युज प्वाइन्ट डटकम
कविता : समय, तिमी र म

-दिनेशप्रसाद अधिकारी

बिहानीको मिर्मिरे उज्यालो सँगै,
चराहरूको चिरबिर बोली सँगै,
म उठें ।
समय हेरें,
समय दिन-रात,
हप्ता, महिना र वर्ष हुँदै,
अगाडि बढिरहेको रहेछ ।
थाहा नै नपाई,
म त्यसैलाई पछ्याइरहेको रहेछु ।
तिमी त्यसलाई,
पछ्याइरहेकी रहेछ्यौ ।
समय,
हिउँद-वर्षा,
वसन्त-शरद
हेमन्त-शिशिर हुँदै
कयौं वर्ष विगत बनिसकेको रहेछ ।
समुद्री छाल जस्तै जीवन,
कहिले उचाइमा,
कहिले गहिराइमा,
छाल सँगसँगै
ठोक्किँदै-ठोक्किँदै
समय सँगसँगै बग्दै बग्दै
हातेमालो गर्दै,
यात्रामा तिमी अघि बढिरह्यौ
यात्रामा म अघि बढिरहें ।
कयौं सफलता,
कयौं असफलता
बोकेर समयको यात्रामा
विगत र वर्तमानलाई नियाल्दै,
सुन्दर भविष्यको खोजीमा
म यात्रामा लम्किरहें,
तिमी यात्रामा लम्किरह्यौं ।
सूर्य उदय,
सूर्य अस्त,
आकाशका ताराहरु,
टिलपिल टिलपिल ,
गर्दैको दृश्य हेरिरहें हेरिरहें,
समयसँगै तिमी र म,
सुन्दर भविष्यको खोजीमा,
लम्किरह्यौं, लम्किरह्यौं ।

बेनिघाट-रोराङ-१०, धादिङ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update