
-दिनेशप्रसाद अधिकारी, बेनीघाट रोराङ-१० ,धादिङ
म सानो छँदा
मेरी आमाले मलाई
हात समाई समाई
डोर्याई डोर्याई
जीवनको यात्रामा
क ख रा सिकाउनुभयो ।
कति माया ! कति स्नेह !!
सन्तान प्रति, मेरी आमाको ।
कहिले बुईमा, कहिले काखीमा च्यापेर
आमाले धर्ती चिनाउनुभयो ।
कहिले आँधी ,कहिले वर्षा सहेर
टेकेर समयका भर्याङहरू
आँसु पुछेर आमाले
आफू भोको बसेर
यात्रामा मलाई डोहोर्याइरहनुभयो ।
मैनबत्ती जस्तै आफू जलेर
कहिले खुसी बटुल्दै
कहिले सपना बटुल्दै
आमासँगैको यात्रामा
गन्तव्य खोजिरहेँ, खोजिरहेँ ।
कैयौं चाडपर्वसँगै
कैयौं बिहानीसँगै
खुसी बटुल्दै, रमाउँदै
कहिले दशैंमा,
लिङ्गे पिङमा
कहिले तिहारमा
देउसे भैलोमा
साथीहरूसँग रमाउँदै
गाउँ र बस्तीबस्तीमा
यात्रामा लम्की रहेँ, लम्की रहेँ ।
सानो छँदा, आमासँगैको यात्रामा पछ्याउँदै
खुसी बटुल्दै, रमाउँदै
गन्तव्यमा कुदिरहेँ, कुदिरहेँ ।