
काठमाडौं : ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटमा जापानविरुद्ध नेपालले ५ विकेटको जित निकालेको छ । योसँगै नेपाल समूह विजेताको हैसियतामा सुपर सिक्समा पुग्यो ।
नेपालले समूह चरणको पहिलो खेलमा कुवेतविरुद्ध ५८ रनको जित निकालेको थियो ।
दोस्रो खेलमा जापानले दिएको १ सय ३१ रनको सामान्य लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा विकेटकिपर आसिफ शेख र अलराउन्डर गुलशनकुमार झाले महत्वपूर्ण पारी खेले ।
आसिफलले २१ बलमा चार छक्का र एक चौकाको मद्दतमा ३८ तथा गुलशनले २९ बलमा दुई छक्का र एक चौकासहित अविजित २८ रनको पारी खेलेका हुन् ।
यस्तै, कुशल भुर्तेलले २१, कप्तान रोहितकुमार पौडेलले १९ तथा दीपेन्द्र सिंह ऐरीले अविजित १४ रन जोडे । जापानका लागि शोमा सिल्टरले सर्वाधिक दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायो ।
उसका लागि कप्तान केन्डेल काडोवाकी फ्लेमिङले अर्धशतकीय पारी खेले । उनले ४६ बलमा ५ चौका र ३ छक्कासहित ६० रनको पारी खेलेका हुन् ।
यस्तै, इसाम रहमानले ३१ र बेन्जामिन इटो–डेभिसले १७ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
बलिङमा नेपालका लागि गुलशनकुमार झा र सन्दीप लामिछानेले दुई/दुई तथा सोमपाल कामी र नन्दन यादवले एक/एक विकेट लिए ।
नेपाललाई दुई विकेट भने रनआउटको रूपमा प्राप्त भयो । नेपालले अब सुपर सिक्समा चारवटा म्याच खेल्ने छ ।
नेपालले सुपर सिक्सको पहिलो खेलमा आइतबार यूएईको सामना गर्नेछ ।