नेपाल न्युज प्वाइन्ट डटकम
नेपाल आइपुगे भारतीय विदेश सचिव मिस्री

काठमाडौँ : भारतीय विदेशसचिव विक्रम मिस्री नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका छन् । सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आइपुगेका हुन् । 

बिहान ९ बजे विशेष विमानबाट आइपुगेका विदेश सचिव मिस्री सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने बताइएको छ ।

१०ः३० प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको बताइको छ । राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्री सिधै बुढानीलकण्ठ जानेछन् । त्यहाँ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ ।

सभापति देउवालाई भेटिसकेपछि उनी सिधै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जानेछन् । प्रचण्डलाई भेटिसकेपछि परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसँग दुईपक्षीय भेटवार्ता हुने स्रोतले जनाएको छ । सचिव स्तरीय वार्ता सकेपछि सचिव मिस्रीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेटवार्ता गर्नेछन् ।

त्यसपछि परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिस्रीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने बताइएको छ । भदौ २ गते सचिव मिश्रीले पशुपतिको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update