पहिरोले कोदारी राजमार्ग अवरुद्ध : छ सय ‘कन्टेनर’ सीमापारि

चौतारा : पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरीपुलपारि रोकिएका छन् ।
भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो खसेको १२ दिन भयो । पहिरो पन्छाउन नसक्दा सवारी साधनमात्र होइन पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बताए । करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ ।
कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको जानकारी दिँदै उनले पहिरो पन्छाउने प्रयास सरकारीस्तरमा नभएको गुनासो गरे ।
यसैबीच, चरिकोटस्थित सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको र त्यो रोकिना साथ भारी उपकरण प्रयोग गरेर बाटो खोलिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ ११:३३
प्रतिक्रिया दिनुहोस्