
सिमकोट, हुम्ला : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको छैटौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय हुम्लाले हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग विद्यालयलाई खाद्य तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री विद्यालयकी प्रधानाध्यापक कमला लामालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले खाद्य कम्पनीले जनताको सुख, दुःखमा सधैं साथ दिँदै आएको बताए । साथै खाद्य सुरक्षा सुनिश्चित गर्न शाखा कार्यालय हुम्लाले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिनमा समेत रचनात्मक कार्य गर्न आग्रह गरे ।
कार्यक्रममा शैक्षिक सामग्री प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय र खाद्य सामग्री जिल्ला समन्वय समितिका का.वा. प्रमुख दलु फडेराले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा शैक्षिक सामग्री लामा सिर्जना जेभी र अधिकृत बिक्रेता च्याङ्ला अर्डर सप्लायर्सले सौजन्य गरेको थियो भने खाद्यान्न र तेल शाखा कार्यालयले उपलब्ध गराएको थियो । कायक्रममा ६० थान साबुन, १२० थान पेन्सिल, ५० थान कलम, १५६ थान स्याम्फु, ९६ थान ठूलो कापी, १५० थान सानो कापी, १ थान भलिबल, ५ थान नेलकट, ४ बोरा अरुवा सोना मंसुली चामल र १ पेटी तेल वितरण गरिएको थियो ।
कार्यक्रम जिल्ला समन्वय समितिका का.वा. प्रमुख दलु फडेराको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी नाराणय पाण्डेयको प्रमुख आतिथ्यता तथा शाखा कार्यालय हुम्लाका शाखा प्रमुख कृष्णबहादुर थापा मगरको सञ्चालनमा अघि बढेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत, सिमकोट गाउँपालिका वडा नं. १ अध्यक्ष गोर्ख लामा, निमित्त जिल्ला समन्वय अधिकारी सन्तोष शर्मा, कम्पनीका वरिष्ठ सहायक कैलाश ऐडीलगायतको सहभागिता रहेको थियो ।