नेपाल न्युज प्वाइन्ट डटकम
चितवनमा डेंगु संक्रमणदर उच्च

चितवन : जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी तीन हजार २० जना चितवन जिल्लाभित्रै डेंगु संक्रमित भएका हुन् । त्यसै गरी, अन्य जिल्लाबाट आएका चार सय १२ पुरुष र चार सय ५७ महिला गरी आठ सय ६९ जनामा डेंगु संक्रमण देखिएको छ ।

गत वर्ष सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकामा देखिएका छन्, जहाँ एक हजार एक सय ७१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि रत्ननगर नगरपालिकामा नौ सय सात, इच्छाकामना गाउँपालिकामा चार सय ६७, खैरहनी नगरपालिकामा दुई सय २३, राप्ती नगरपालिकामा एक सय २४, कालिका नगरपालिकामा ९१ र माडी नगरपालिकामा ३७ जना संक्रमित भएका छन् । डेंगु का कारण गत आवमा एक जनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।

जिल्लामा गत आव १७ हजार ३५३ जनाको रगत परीक्षण गरिएको थियो । जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले संक्रमण दर उच्च भए पनि मृत्युदर कम रहेको बताए । उनका अनुसार अघिल्लो आवमा एक हजार आठ सय ३१ जनामा डेङ्गु संक्रमण देखिएको थियो, जुन २३ हजार आठ सय ४० जनाको परीक्षणबाट पुष्टि भएको थियो ।

आव २०७४/७५ मा एक हजार २९१ परीक्षण ५९ संक्रमित, २०७५/७६मा एक हजार ९५१ परीक्षण ३१ संक्रमित, २०७६/७७ मा १९ हजार २३० परीक्षण चार हजार ८०३ संक्रमित, २०७७/७८ मा एक हजार ७१७ परीक्षण २४३ संक्रमित, २०७८/७९ मा १४ हजार ९७८ परीक्षण, तीन हजार ३३६ संक्रमित, २०७९/८० मा पाँच हजार ४५४ परीक्षण, ३०३ संक्रमित भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

जिल्लाको मुख्य बजार क्षेत्रमा डेंगु जोखिम बढी हुने गरेको छ । संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाइएको छ । कार्यालयले सबै सातै पालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिसँग अन्तरक्रिया र छलफल गर्दै डेंगु नियन्त्रणका उपाय अघि बढाएको भेक्टर कन्ट्रोल निरीक्षक केसीले जानकारी दिए । डेंगु फैलाउने लामखुट्टेको सङ्ख्या बढ्ने मौसमी कारण यस सिजनमा सतर्क रहन सबैलाई सचेत गराइएको उनले बताए ।

नेपालमा डेंगु ज्वरो पहिलो पटक सन् २००४ मा चितवनमा देखिएको थियो । त्यो वर्ष यहाँ आएका एक जापानी पर्यटकमा रोग पुष्टि भएको थियो । त्यसपछि सन् २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा पनि डेंगुका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा नौ जनामा संक्रमण देखिएको थियो । सन् २०१० मा तीन हजार २९८ जनाको परीक्षण गर्दा ७३९ जनामा डेंगु संक्रमण पुष्टि भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

भेक्टर कन्ट्रोल केसीका अनुसार डेंगु रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्ष्यण देखा पर्छ । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुनेजस्ता लक्षण देखा पर्ने उनले बताए । डेंगु ज्वरो विषाणुका कारण हुने भएकाले यसको खासै उपचार नहुने उनले जानकारी दिए ।

डेंगु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको भेक्टर कन्ट्रोल केसीले बताए ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update