नेपाल न्युज प्वाइन्ट डटकम
हुम्लाको सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गरेका छन् । पुलको उद्घाटनसँगै हुम्ला सदरमुकाम सिमकोट औपचारिकरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

हुम्लाको सदरमुकाम सिमकोटलाई सडक सञ्जालमा जोड्ने योजना बनेपछि खार्पुको दोजाम कर्णाली नदीमा नेपाली सेनाले बेलिब्रिज निर्माण गरेको हो ।

बाँकेको जमुनियाबाट हिल्सासम्म यो सडकको दूरी ५१० किलोमिटर रहेको छ । यसले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने छ ।

बेलिब्रिज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइने बताए । उनले कर्णाली करिडोर कर्णाली र हुम्लावासीको मात्र नभई दुई छिमेकी देशसँगको व्यापाररिक मार्ग भएकाले यसलाई तत्काल दुई लेनको बनाइनुका साथै कालोपत्र गर्दै लैजाने बताए ।

उनले हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएकामा खुशी व्यक्त गरे । 

हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग तथा त्रिदेशीय सीमासँग जोड्न बेलिब्रिज निर्माण गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यहाँ निर्माणाधिन पक्कीपुललाई निरन्तरता दिएर हुम्लालाई मात्र नभएर देशलाई समृद्धिको बाटोतर्फ डोर्याउने प्रतिबद्धता व्यक्त गरे । अप्ठयारो ठाउँमा ढलान गरेर भए पनि सडक स्तरोन्नति गर्दैलैजाने उनको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा क्वारेन्टाइन निर्माण गरिने प्रतिबद्धता जनाए । उनले यहाँ व्यापार व्यवसायको ठूलो सम्भावना भएको उल्लेख गर्दै छिमेकी मुलुकसँग व्यापार व्यवसाय गर्न पनि क्वारेन्टाइन तत्काल स्थापना गर्न आवश्यक भएको बताए ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update