
काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षमा रासायनिक मलको आपूर्ति तथा व्यवस्थापनका लागि २८ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री अधिकारी यस्तो बताएका हुन् ।
उनले अगामी आर्थिक वर्षको मल आपूर्तिको कार्ययोजना तयार भइसकेको र सोहीअनुसार तीन लाख मेट्रिक टन मल आयातका लागि टेन्डर आह्वान समेत भइसकेको जानकारी दिए । उनले उन्नत बिउ तथा बिउविजनको आपूर्तिका लागि नेपाली कृषि अनुसन्धान परिषद् र कृषि विभागअन्तर्गतका फर्महरूमार्फत उत्पादन गरिएका बिउहरू कृषक समूह, सहकारी संस्था र निजी कम्पनीमार्फत उपलब्ध गराइँदै आएको समेत बताए ।
उनले भने, ‘अगामी आर्थिक वर्षमा मल आयात गर्नको लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको छ । अगामी आर्थिक वर्षको मल आपूर्ति तथा व्यवस्थापनको कार्ययोजना तयार भइसकेको छ र सोहीअनुसार तीन लाख मेट्रिक टन मल आयातका लागि टेण्डर समेत आह्वान भइसकेको छ । उन्नत बिउविजनको उपलब्धताका सम्बन्धमा नेपाली कृषि अनुसन्धान परिषद् र कृषि विभागअन्तर्गतका फर्महरुबाट विकास गरिएका मुल बिउ र उन्नत बिउहरु बिउ उत्पादक समूह, सहकारी, कृषकहरु, निजी कम्पनीहरुलाई उपलब्ध गराइएको छ । बिउ उत्पादन तथा व्यवस्थापनमा हाल निजी क्षेत्रलाई बढी जिम्मेवार बनाइएको छ । स्वदेशी र स्थानीय बिउको प्रवर्द्धनका लागि विभिन्न एक सय ८० वटा स्थानीय तहका कृषकहरुलाई डिजिटल प्रविधिमार्फत उन्नत बिउमा अनुदान उपलब्ध गराउने गरी बजेट तथा कार्यक्रमको व्यवस्था मिलाइएको छ ।’
उनले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादकत्व वृद्धिको लक्ष्य र कृषकको आत्मनिर्भरताका लागि बजेटका कार्यक्रमहरू प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।