
काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना साउनदेखि चैतसम्ममा करिब १२ खर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । चैतसम्ममा ११ खर्ब ९१ अर्ब रूपैयाँ बराबर रेमिट्यान्स भित्रिएको हो ।
गत आर्थिक वर्ष २०८०/८१ को ९ महिना साउनदेखि चैतमा भने १० खर्ब ८२ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यो अवधिमा रेमिट्यान्स भित्रिने दर १०.०७ प्रतिशतले बढेको हो ।
चैत एक महिनामा मात्रै भने एक खर्ब ३९ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । पछिल्लो २६ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ ।
यो ९ महिना साउनदेखि चैतमा ७ अर्ब ४२ करोड रूपैयाँ रेमिट्यान्स बाहिरिएको छ । गत वर्षको पहिलो ९ महिनामा ५ अर्ब ११ करोड रूपैयाँ बाहिरिएको थियो ।
९ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.७६ प्रतिशतले बढेको छ । गत आवको ९ महिनामा ५ लाख ३९ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या ६ लाख ७ हजार पुगेको छ ।