
काठमाडौं : भारत सरकारले जम्मु-कश्मीरको पहलगाममा अप्रिल २२ मा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान लिने चरमपन्थी आक्रमणपछि आज बिहान "अपरेसन सिन्दूर" नामक सैन्य कारबाही गरिएको जनाएको छ ।
भारतीय विदेश सचिव विक्रम मिस्रीले आज नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उक्त कारबाहीबारे जानकारी दिएका हुन् ।
उनले उक्त आतंकवादी आक्रमण पाकिस्तानमा आधारित लश्कर-ए-तोइबा नामक आतंकी समूहका प्रशिक्षित आतंककारीहरूद्वारा गरिएको पुष्टि गर्दै त्यसको प्रत्यक्ष जिम्मेवारी "दि रेसिस्टेन्स फ्रन्ट" नामक समूहले लिएको बताए । यो समूह लश्कर-ए-तोइबाको छद्म आवरण भएको भारतको दाबी छ ।
मिस्रीले ती २६ जनामध्ये एक नेपाली नागरिकको पनि हत्या भएको पुष्टि गरे । "यो हमला २००८ को मुम्बई आक्रमणपछि भारतमा भएको सबैभन्दा ठूलो नागरिक हताहत भएको आतंकी आक्रमण हो," उनले भने । उनले थपे, "पीडितहरूलाई नजिकबाट टाउकोमा गोली हानी मारिएको थियो, परिवारका सामु तर्साउने शैलीमा यो आक्रमण गरिएको थियो ।"
विदेश सचिव मिस्रीका अनुसार, भारतको प्रमुख पर्यटकीय गन्तव्य जम्मु-कश्मीरमा सामान्य अवस्था फर्कन थालेपछि त्यसलाई विथोल्न आक्रमण गरिएको हो । सन् २०२४ मा जम्मु-कश्मीरमा २३ मिलियन पर्यटक पुगेको उल्लेख गर्दै उनले आतंककारीहरूको उद्देश्य आर्थिक प्रगति रोक्ने रहेको दाबी गरे ।
उनले भने, "पाकिस्तानले यस आक्रमणबारे कुनै पनि ठोस कारबाही गरेको छैन, बरु झूटो प्रचार र दोषारोपणमै सीमित भएको छ ।" भारतको गुप्तचर निकायले पाकिस्तानबाट थप आक्रमणको तयारी भइरहेको पत्ता लगाएको भन्दै, भारतले बिहानै "मापन गरिएको, असंवेदनशील नभएको र उत्तरदायी" कारबाही गरेको जानकारी दिए ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले अप्रिल २५ मा जारी गरेको प्रेस वक्तव्यमा यो आक्रमणको भर्त्सना गर्दै दोषीहरूलाई कारबाहीमा ल्याउनुपर्ने आवश्यकता औँल्याएको थियो। मिस्रीका अनुसार भारतको यो कारबाही त्यही सन्दर्भमा गरिएको हो ।
प्रेस सम्मेलनमा सेनाका वरिष्ठ अधिकारीहरू कर्नल सोफिया कुरैशी र विंग कमाण्डर व्योमिका सिंहले ‘अपरेसन सिन्दूर’ को विस्तृत विवरण सार्वजनिक गरेका छन् ।